नेपालले विश्व बैंकबाट १३ अर्ब बढी सहुलियतपूर्ण ऋण लिने
Suman Bhandari (5/3/2024)
नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदार मध्ये एक हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो। १ अमेरिकी डलर बराबर प्रचलित विनिमय दरअनुसार १३३ रुपैयाँ हुने हुँदा यो ऋणको रकम करिब १३ अर्ब ३३ करोड रुपैयाँ बराबर हुन आउँछ।
यस ऋणलाई नेपालको आर्थिक विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा लगानी गर्न प्रयोग गरिने बताइएको छ। सरकारका एक अधिकारीका अनुसार सहुलियतपूर्ण शर्तमा प्राप्त यस्ता ऋण देशको आर्थिक विकासका लागि महत्वपूर्ण स्रोत हुन्छन्।
नेपालले विश्व बैंकबाट यसअघि पनि धेरै सहुलियतपूर्ण ऋण लिइसकेको छ। विश्व बैंकले नेपालमा बिभिन्न आयोजनाहरू सञ्चालन गर्दै आएको छ। गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा बैंकको लगानी केन्द्रित रहेको छ।