कांग्रेस सांसद पौडेलद्वारा ५ योजनाका लागि बजेट माग
ROE Network (5/4/2024)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विभिन्न पाँच योजनामा बजेट माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र बुझाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ का सांसद पौडेलले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष आफ्नो क्षेत्रका मुख्य मुख्य योजनाहरूका लागि बजेट माग गरेका हुन्। सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि आगामी जेठ १५ गते बजेट ल्याउँदैछ।
उक्त बजेटमा खानेपानीदेखि सडकसम्मका योजनाहरू समयमै सक्न र प्राथमिकता दिएर बजेट विनियोजन गर्न पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका छन्। उनले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्चज जलाधार क्षेत्रभित्रका मुहानहरूबाट पानी संकलन गर्न पूर्ण क्षमताको संकलन केन्द्र नभएकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
"पानी चुहावट नियन्त्रणका लागि एकीकृत पानी संकलन केन्द्र तथा ट्यांकी निर्माण गरी उपभोक्तालाई खानेपानी उपलब्ध गराउन सकिने छ," पौडेलले बताएका छन्।नेपाल सरकारसमक्ष यस परियोजनालाई बहुवर्षीय योजनामा सूचिकृत गराई तत्काल डिपिआर तयार गरी आगामी वर्षदेखि नै कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिदिनु भनी पनि उनले अनुरोध गरेका छन्।
पौडेलले विष्णुमति नमुना करिडोर, टुकुचा खोला ढल व्यवस्थापन परियोजना, रिङरोड दोश्रो खण्ड विस्तार परियोजना र भुतखेल मैदान खेलकुद विकास योजनाका लागि पनि बजेट विनियोजन गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन्।