वन डढेलोको धुँवाले हिमाल धमिलो
ROE Network (5/5/2024)
देशभरी लागेको वन डढेलोका कारण एभरेस्ट बेसक्याम्पबाट हिमालहरू धमिलो देखिन थालेका छन्। "हिमाल धमिलो देखिन थालेका छन्, यसरी त पहिलेकहिल्यै देखिएको थिएन," एभरेस्ट आरोही निमा नुर्बुले भने, "डढेलोका कारण हावाको गुणस्तर पनि खराब भएको छ।"
वसन्त ऋतुमा देशका विभिन्न ठाउँहरूमा वन डढेलो सुरु भएसँगै हिमाली क्षेत्रमा समेत धुँवा फैलिएको हो। जंगल डढेलोको धुँवामा रहेका हानिकारक तत्वहरूले हिउँ पिग्लाउने क्रम तीव्र बनाएको छ भने सास फेर्न समस्या भएको आरोहीहरूको गुनासो छ।
नेपालमा प्रत्येक वर्ष वसन्त ऋतुमा धेरै वन डढेलो हुने गरेको छ। तर, यस पटक डढेलो अत्यधिक फैलिएकाले वातावरणमा गम्भीर असर परेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि वन डढेलोबाट उत्पन्न धुँवाका कारण हिमाली क्षेत्रमा वायु प्रदूषण बढेको जनाएको छ।
नेपालका हिमाली क्षेत्रहरू वन डढेलो र वायु प्रदूषणको मारमा परेका बेला यसलाई नियन्त्रण गर्न सरकारले कदम चाल्न नसकेको आलोचना भइरहेको छ। वन डढेलोले मात्र होइन, शहरी क्षेत्रबाट उत्सर्जित प्रदूषणले पनि हिमाली क्षेत्रलाई प्रभावित बनाइरहेको बताइन्छ।