बागमती प्रदेशमा भोली सार्वजनिक बिदा :
ROE Network (5/5/2024)
बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई औपचारिक रूपमा कामकाजी भाषामा प्रयोग गर्न शुरू गरिने अवसरमा बिदा दिइने भएको हो।
प्रदेश सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते सार्वजनिक बिदा दिने पुष्टि गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजना गरी सो दिन बिहान ९ बजे प्रदेशभर तामाङ र नेपाल भाषाको कामकाजी भाषाको रूपमा प्रयोग शुभारम्भ गर्नेछन्।
सरकारले संस्कृति मन्त्री शैलेन्द्रमान बज्राचार्यको संयोजकत्वमा ३० सदस्यीय विशेष समारोह समिति गठन गरेको छ। समितिमा तामाङ र नेवाः समुदायका संस्थाहरू समावेश छन्। वैशाख २४ गतेबाटै प्रदेशका सबै मन्त्रालयको साइनबोर्ड नेपाली, तामाङ र नेपाल भाषामा लेखिने मन्त्री बज्राचार्यले बताए।
प्रदेश सरकारले गत वर्ष कार्तिकमा 'बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०' जारी गरेको थियो। तर, ऐन कार्यान्वयनमा आउन नसकेकाले विशेष कार्यक्रमबाट लागू गरिने भएको छ।