प्रधानमन्त्री प्रचण्डद्वारा सरकार पूरा अवधि चलाउने प्रतिबद्धता
Suman Bhandari (5/8/2024)
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको सरकारलाई पूरा अवधिसम्म चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माण लगायतका काममा आफ्नो सरकार लागिपरेको बताएका छन्।
"अनेक गरिन्छ तर सरकारलाई पूरा अवधिसम्म लगिन्छ, दुविधा नराखौं," प्रधानमन्त्री प्रचण्डले भने, "शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा युगान्तकारी काम भइरहेका छन्।" आफ्नो सरकारको कामप्रति सन्तुष्ट नभए पनि ठिकै प्रगति भएको उनले दाबी गरे।
नयाँ नीति कार्यक्रम र बजेटबाट नागरिकमा नयाँ भरोसा जगाउने प्रयास भइरहेको र यसबाट विकास र राहतको काममा नयाँ सम्बोधन हुने उनको विश्वास छ। "आर्थिक अवस्था सङ्कटमुक्त भइसकेको छैन, तर मैले नेतृत्व लिएयता धेरै सकारात्मक परिवर्तन भएका छन्," उनले भने।
आफ्नो सरकारले गरेका कामको प्रचार हुन नसकेकोप्रति गुनासो गर्दै उनले भने, "हामीले खानेपानी, मलखाद र बिउको समस्या समाधान गर्दैछौं, तर अरुले भएको हल्ला गरिएको भए हामीले जति गरेका छौं सुन्न नसक्नु हुनेथियो। प्रचारमा हामी कमजोर भएका छौं।"
प्रचण्डले माओवादी धाराका दलहरुको एकतासम्बन्धी प्रक्रिया अघि बढिरहेको पनि जानकारी गराएका छन्।