मुग्लिन–पोखरा सडक विस्तारमा २४ वटा पुल निर्माणको चरणमा
Suman Bhandari (5/8/2024)
तनहुँ र कास्की जिल्लामा मुग्लिन–पोखरा सडक विस्तारको काम धमाधम रुपमा भइरहेको छ। यस अन्तर्गत पूर्वी र पश्चिम दुवै खण्डमा २४ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाबाट प्राप्त जानकारी अनुसार, पूर्वी खण्डमा आँबुखैरेनीदेखि म्याग्दे जामुनेसम्मका १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। त्यस्तै पश्चिम खण्डको जामुनेदेखि पोखरा सेतीपुलसम्मका १२ पुलमध्ये ११ वटा पुल निर्माण भइरहेको छ।
पूर्वी खण्डको ४१ दशमलव ७ किलोमिटर र पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर मार्गमा पुल निर्माण कार्य भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार पूर्वी खण्डअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीन वटा ठूला पुल निर्माण भइरहेको छ।
"यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्य प्रगति भएको छ। १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ," आयोजना प्रमुख यादवले भने।
त्यसैगरी पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत् पोलमध्ये करिब ५० प्रतिशत हटाइएको छ। यस खण्डमा ११ किमी सडक कालोपत्र गरिएको र हालसम्म २३ प्रतिशत कार्यप्रगति भएको आयोजनाका इन्जिनियर नारायण पौडेलले बताए।
"राजमार्गका दायाँबायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ," इन्जिनियर पौडेलले भने, "तनहुँको खैरेनीटारदेखि कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी छ।"