चुम्बन गर्ने कीर्तिमान
ROE Network (5/9/2024)
गत वर्ष जुलाई ६ मा अन्तर्राष्ट्रिय चुम्बन दिवसको अवसरमा एउटा अनौठो घटना भयो । त्यहाँ जर्मन रेष्टुरेन्ट चेन भापियानोले आयोजित एक कार्यक्रममा ४ सय ६५ जोडीले एकसाथ एक-एक त्यान्द्रो चाउमिन (स्पागेटी) खाएर विश्व कीर्तिमान कायम गरेका छन् ।
बर्लिनस्थित टेम्पेलहफ एयरपोर्ट ह्यांगरमा आयोजित त्यो कार्यक्रममा जोडीहरुले दुईतिरबाट मुखमा हाल्दै चाउमिनको एउटा त्यान्द्रो एकसाथ खाएका थिए । उनीहरुलाई उक्त त्यान्द्रोलाई बराबर मात्रामा खानुपर्ने र अन्तिममा आपसमा चुम्बन गर्नुपर्ने शर्त रहेको थियो। साथै ३० सेकेण्डभित्र त्यान्द्रो खाइसक्नुपर्ने नियम पनि थियो ।
रेष्टुरेन्टले झलक दिनेगरी ह्यांगरलाई सजाइएको थियो भने टेबुलमा रातो कपडाहरु बिछ्याइएका थिए। त्यस्तो साजसज्जा गर्न २० घण्टा लागेको भापियानोले बताएको छ। त्यहाँ खुवाइएको चाउमिन पनि एयरपोर्ट ह्यांगरभित्रै स्थापित मोबाइल किचेनमा तयार पारिएको थियो।
कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डस्का प्रतिनिधिहरु समेत उपस्थित रहेका थिए। उनीहरुकै रोहबरमा नयाँ कीर्तिमान बनेको भापियानोले जनाएको छ।