अष्ट्रेलिया जाने शुल्कमा महंगी
ROE Network (5/9/2024)
अष्ट्रेलियाले आप्रवासीहरूको चाप घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ। विदेशी विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न सरकारले लिएको नयाँ आप्रवासन रणनीतिअन्तर्गत शुक्रबार (१० मे) देखि लागू हुनेगरी विद्यार्थीहरूले कम्तीमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्ने भएको छ।
यो रकम गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट २४ हजार ५०५ मा पुर्याएको केही महिनामै दोस्रो पटक बढाइएको हो। आप्रवासन विभागका अनुसार नयाँ शर्तले विदेशी विद्यार्थीहरूलाई आफ्नो अध्ययनकालिन खर्च व्यवस्थापन गर्न सक्षम हुनुपर्ने बाध्यता लगाउँछ।
यसअघि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा आय आर्जन गर्न दिने र पारिवारिक कल्याणकारी सुविधाहरू पाउने अवसर प्रदान गरिएको थियो। तर नयाँ शर्तले त्यस्ता सुविधामा कटौती गरेको विश्लेषकहरूले बताएका छन्। अष्ट्रेलियाले मुलुकमाथि आप्रवासीको दबाब कम गर्न यस्ता कदम चालेको हो।