नेपालमै हुन्डाई गाडी एसेम्बल हुने
ROE Network (5/10/2024)
दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा आफ्नो गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गरेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा उक्त प्लान्ट स्थापना गरेको हो।
शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हुन्डाई एसेम्बल प्लान्टको उद्घाटन गरे। समारोहमा प्रधानमन्त्री दाहालले उद्योगी, व्यवसायी र लगानीकर्ताहरूको मनोबल उच्च राखी देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए।
आर्थिक विकासमार्फत् नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वास गरी अर्थतन्त्र सुदृढीकरण गरिने बताए। लगानी सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
"निजी क्षेत्रको लगानी र राज्य तथा निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन र रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्," प्रधानमन्त्री दाहालले भने, "देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न र लगानीका क्षेत्रको सुरक्षा तथा सहजीकरणका लागि सरकार सधैँ तयार छ।"
यो नयाँ हुन्डाई प्लान्ट सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका लागि स्वदेशी एवम् विदेशी लगानीकर्ताहरू थप आकर्षित हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे। यसबाट औद्योगिकीकरण र आयात प्रतिस्थापन हुनुका साथै सयौं स्वदेशी कामदारहरूलाई रोजगारी प्राप्त हुने पनि उनको भनाइ छ।
गाडी नेपालमा नै एसेम्बल हुँदा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउने उनले बताए। यसले आन्तरिक स्रोत र विद्युत् खपत, स्थानीय विकास र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीको विश्वास छ।