माथिल्लो तामाकोशीको विद्युत् बिक्रीमा उच्च वृद्धि, नोक्सानी भने कायमै
ROE Network (5/12/2024)
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६ अर्ब ५३ करोड रुपैयाँबराबरको विद्युत् बिक्री गरेको छ। यो गतवर्षको समान अवधिभन्दा ५.८ प्रतिशतले बढी हो। तर उच्च वित्तीय लागतका कारण आयोजना नोक्सानीमै रहेको छ।
कम्पनीले साउनदेखि चैतसम्मको अवधिमा १ अर्ब ३९ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको छ। यद्यपि गत वर्षको समान अवधिको २ अर्ब २ करोड नोक्सानीभन्दा भने यो रकम कम हो। उच्च वित्तीय लागतले गर्दा कम्पनीलाई नोक्सानीमा धकेलेको बताइएको छ।
तेस्रो त्रैमासिकसम्म कम्पनीको वित्तीय लागत मात्रै ४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। यस्तो लागत गतवर्षको समान अवधिभन्दा भने कम हो। चैतमसान्तसम्म कम्पनीको कुल दीर्घकालीन ऋण ७२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
यस्तो ठूलो ऋण र ब्याज बुझाउँदै जाँदा आयोजनालाई आगामी वर्षहरूसम्म नोक्सानी ब्यहोर्नुपर्ने देखिन्छ। कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ मात्रै छ। हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२ रुपैयाँ नाघेको छ।